दक्षिण कोरियामा चर्को गर्मी छल्न यस्ता उपाय

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते ०:१७

बीबीसी । दक्षिण कोरियामा तापक्रम हालसम्मकै सर्वाधिक ४०.३ डिग्री सेल्सियस पुगेको छ। राजधानी सउलमा पनि यसअघि रेकर्ड गरिएको भन्दा धेरै अर्थात् ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ। त्यहाँ सन् १९०७ देख‌ि मात्र गर्मीको अभिलेख राख्‍न थालिएको हो।

अधिकारीहरूका अनुसार चर्को गर्मीका कारण हालसम्म २८ जना भन्दा बढीको ज्यान गइसकेको छ। त्यसै गरी २,२६६ जनामा गर्मीका कारण स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरू देखा परेका छन्।

मानिसहरू पौडी पोखरी, पानीका फोहरा आदि भएका स्थानमा गएर गर्मी छल्ने प्रयास गरिरहेका छन्। केहीले भने नौलो उपाय अपनाएर बरफ भरिएको लुगा लगाई जीउ चिसो पार्ने प्रयास गरिरहेका छन्।

यो हप्ताभरि नै चर्को गर्मी रहने अनुमान गरिएको छ। राष्ट्रपति मून जे(इन ले यो गर्मीको लहरलाई एक प्रकारको प्राकृतिक विपद् घोषणा गर्न आह्वान गरेका छन्।

त्यस्तो घोषणा भएमा पीडितहरुले क्षतिपूर्ति दाबी गर्न पाउने छन्। सरकारले नगर तथा प्रान्तीय सरकारहरूलाई प्रतिकूल मौसमले पारेको प्रभावसँग जुध्नका लागि सघाउन छ अर्ब कोरियाली वन अर्थात् झन्डै ५३ लाख डलर रकम छुट्याएर राखेको छ।

गर्मी चर्कँदै गर्दा सउलका मेयर पार्क वन(सून आफ्नो सरकारी निवास छाडेर न्यून आय भएका मानिसहरू बसोबास गर्ने बहुतल्ले भवनमा रहेको एउटा सानो अपार्टमेन्टमा बस्न थालेका छन्। उनले आफू पनि सर्वसाधारण जनताको पीडामा सहभागी भएको भनेर देखाउने प्रयासमा त्यस्तो गरेका बताइएको छ।

आलोचकहरूले मेयरको त्यस्तो कदमलाई राजनीतिक तिकडम भनेका छन्। अहिले दक्षिण कोरियामा ब्याट्रीबाट चल्ने तर बोकेर हिँड्न मिल्ने पङ्खाको विक्री एकदमै बढेको छ। सँगसँगै बरफका टुक्राहरू भरिएको लुगा र घाँटीमा नै झुन्ड्याउन मिल्ने पङ्खा जस्ता असामान्य उपायहरू पनि चलनचल्तीमा देखिएका छन्।

सउलमा रहेका पानीका फोहराहरूले पनि पानी छर्केर मानिसहरुलाई ठन्डा अनुभव गराउने प्रयास गरिरहेका छन्। दक्षिण कोरियालीहरू चर्को गर्मीको समयमा तात्तातो सुरुवा पिउने गर्दछन्। कुखुरा र जिनसेङ भनिने एउटा जडीबुटीको हालेर बनाइएको तातो सुप बेच्ने पसलबाहिर लामो लाम लाग्ने गरेको छ।

सामग्येताङ नामको सुरुवाको त्यस्तो परिकार शक्ति बढाउनका लागि पिउने गरिन्छ। एउटा रेस्तँराका सञ्चालक भन्छन्, आगोसँग जुध्न आगो नै चाहिन्छ भने जस्तै मानिसहरू तात्तातो झोल पिएर गर्मीसँग जुध्ने प्रयास गर्छन्।

‘एकदमै गर्मी लागेको बेला हामी चिसो खानेकुरा खान्छौँ। तर त्यसबाट हाम्रो पेट मात्र चिसो हुन्छ बाँकी शरीर तातै रहन्छ । त्यसैले शरीरको सबै भागलाई समान तापक्रममा ल्याउने प्रयासमा तातो सुप खाने गरिएको हो’ – भाइस पत्रिकासँग कुरा गर्दै ती रेस्तराँधनी चोइ मी(ही ले बताए।

२०७५ साउन १७ गते ०:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर