हायसको ठक्करबाट साइकल यात्रुको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते ६:३६

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा बिहीबार बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे १ ज ६३५ नंम्बरको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ । रासस
२०७५ साउन १७ गते ६:३६ मा प्रकाशित