पर्यटकीय होटलमा लगानी बढ्दो

आजको खबर   |    प्रकाशित : २०७५ साउन १९ गते ७:१९

–नारायण अधिकारी

चितवन । विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो ।

चिकित्सक, कानून व्यवसायी, प्राध्यापक, पत्रकार, कलाकार, इन्जिनियर, अडिटर, शिक्षक, कर्मचारी, राजनीतिज्ञलगायतका क्षेत्रमा रहेकाले आफ्नै नेतृत्व वा सामूहिक लगानीमा पर्यटकीय होटलमा लगानी गरेको पाइन्छ ।

निर्माण व्यवसायी, पोल्ट्री व्यवसायी, घरजग्गा व्यवसायी, यातायात व्यवसायी, गैरआवासीय नेपालीलगायतले पनि पर्यटकीय होटलमा लगानी गरेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे पछिल्लो समय विभिन्न पेशा र व्यवसायमा रहेकाले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो रहेको बताउँछन्।
जिल्लामा शिक्षा र स्वास्थ्यमा अग्रणी संस्थाको नेतृत्व गर्दै आएका इन्जिनियर बाबुराम उपाध्याय दुई ठूला होटलमा लगानी गरिरहेको बताउँछन् । भरतपुरमा बन्दै गरेको होटल सिराइचुलीका निर्देशक उपाध्याय निर्माणाधीन कविलास रिसोर्ट एण्ड फनपार्कको अध्यक्ष हुन ।

शिक्षा र स्वास्थ्यको विकल्पका रुपमा पर्यटन व्यवसायमा लगानी गरेको उपाध्यायको भनाइ छ ।

पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनाली पर्यटन क्षेत्रमा विश्वव्यापीरूपमा तरंग पैदा भएसँगै विभिन्न पेशा व्यवसायबाट यसमा लगानी गर्नेको संख्या बढेको बताउँछन् । उनले अबको उद्योग पर्यटन उद्योग हो भन्ने भावनाको जागरण बढेको बताए ।

साना ठूला बैठक, वार्षिकोत्सव, अधिवेशन हुँदै विभिन्न चाडपर्वमा इष्टमित्र, साथीभाइ र कर्मचारीबीचमा होटलमा बसेर खाजा खाना खाने चलन पनि बढेर गएको छ । विदेशीसँगै आन्तरिक पर्यटक घुमफिर गर्न आउने प्रचलन पनि बढ्दो छ । जसका कारण सञ्चालनमा रहेका होटलले राम्रो व्यवसाय गरेका छन् ।

होटल सिराइचुलीका अध्यक्ष चुडामणि खनाल शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनिएको व्यक्ति हुन । उनकै नेतृत्वमा सिराइचुली बन्दै छ भने उहाँसहितको समूहले अरु दुई ठूला होटल बनाउँदैछ । अरु क्षेत्रमा भन्दा होटल क्षेत्रमा सरकारको दृष्टिकोण स्पष्ट रहेका कारण यस क्षेत्रमा लगानी सुरक्षित हुने उनि बताउँछन् ।

झण्डै दुई दशक क्रियाशील पत्रकारिता गरिसकेका वसन्त पराजुली गैंडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक हुन। अर्को होटल पनि उनको समूहले बनाउँदैछ । पराजुली आर्थिक विकास र समृद्धिको लक्ष्य पूरा गर्न र दीर्घकालीन प्रतिफल दिन पर्यटन व्यवसायले नै सक्ने भएकाले आफू यस क्षेत्रमा लागेको बताउँछन्।

होटल क्षेत्रमा लगानी गर्नुभएका राजनीतिज्ञ एवं प्राध्यापक जगन्नाथ थपलिया देशमा राजनीतिक स्थायित्व भएसँगै पर्यटन व्यवसायको भविष्य देखेर यसतर्फ लगानी गर्न विभिन्न पेशा व्यवसाय गरेकाहरू आकर्षित भएको बताउँछन् । जिल्लामा सुविधासम्पन्न होटल मटेलहरू बनिनसकेकाले अन्य पेशा व्यवसाय गरेकाले सामाजिक उत्तरदायित्वको भावना लिएर पनि यस क्षेत्रमा लगानी गरेको थपलिया बताउँछन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा ठिमुरा रिभरसाइड रिसोर्ट बनाउँदै आएकी डा विष्णुमाया (बिएम) खरेल लगानीमा जोखिम कम हुने भएकाले होटल क्षेत्रमा लगानी गरेको बताउँछिन् । खरेल दम्पत्तिले भरतपुरमा एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालन गर्दै आएका छन् । होटल क्षेत्रमा पनि लगानी गरेका दन्तरोग विशेषज्ञ डा अजय न्यौपाने नेपालमा पर्यटन व्यवसायको भविष्य उज्ज्वल रहेको बताउँछन् ।
तेस्रो पर्यटकीय गन्तव्य चितवनमा विगत केही वर्ष जग्गा व्यवसाय फस्टाएको थियो । त्यतिबेला विभिन्न पेशाका व्यक्तिले राम्रो आम्दानी पनि गरेका थिए । सो रकम पनि अहिले होटल व्यवसायमा लगानी भएको छ ।

चितवन र नवलपुर क्षेत्रमा १५० पर्यटकीय होटल रहेका छन् । जसमध्ये ११० सौराहामा छन् । होटल व्यवसायमा १५ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यहाँका थारु संस्कृति हेर्न, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, पवित्र तीर्थस्थल देवघाट, सिराइचुलीलगायतका पर्यटकीय ठाउँ घुम्नका लागि यहाँ बर्सेनि दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।रासस

२०७५ साउन १९ गते ७:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

One thought on “पर्यटकीय होटलमा लगानी बढ्दो

  1. You really make it seem really easy together with your presentation however I in finding this matter to be really something that I believe I’d by
    no means understand. It seems too complex and extremely extensive
    for me. I’m having a look ahead in your subsequent submit, I’ll try to get the hold
    of it!

    Here is my webpage :: 메이저놀이터

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर