अण्डा नबिक्दा झापाका किसान मारमा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २० गते ६:०४

दमक । झापामा मागभन्दा बढी अण्डा उत्पादन भएको र उत्पादित अण्डाको लागत मूल्य समेत पाउन छाडेपछि यसमा संलग्न किसानहरु समस्यामा परेको बताइएको छ । दुई महिना यता लगातार अण्डाको भाउ घटेको र बिक्रीमा समेत समस्या भएका कारण करोडौको लगानी संकटमा परेको किसानहरु बताउँछन् ।

झापामा लेयर्स कुखुरापालक किसानहरुले ३ महिना यता ३ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको जनाइएको छ । मासिक १ करोड १२ लाख घाटा व्यहोरिरहनु परेको जिल्ला अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईंले जानकारी दिए । झापाका ७०भन्दा बढी कुखुरापालक व्यवसायीहरु अहिले यो व्यवसाय छाड्नु न समात्नुको अवस्थामा पुगेको उनको भनाइ छ ।

उनका अनुसार गत बर्ष यो समयमा थोक मूल्य प्रतिगोटा ११ रुपैयाँमा विक्री हुने अण्डा यो बर्ष ७ रुपैयाँ ६१ पैसामा विक्री भइरहेको छ । यो लागत मूल्यभन्दा धेरै कमी भएको उनले बताए । दमक एग्रिकल्चर फार्मका प्रवन्ध निर्देशक समेत रहेका प्रसाईका अनुसार बाहिरबाट सानो आकारका अण्डाहरु आउँदा झनै समस्या पैदा भएको छ ।

संघले झापामा रहेका ७० वटा लेयर्स कुखुरा फार्ममा करिव ३ लाख हाराहारीमा अण्डा उत्पादन गर्ने कुखुरा रहेको जनाएको छ । यसलाई आधार बनाउदा दैनिक जिल्लामा अण्डा उत्पादक किसानले ४ लाखको हाराहारीमा घाटा व्यहोर्नु परेको छ । यसबाट किसानहरु प्रत्यक्ष मारमा पर्न थालेका छन् । संघका पूर्व अध्यक्ष एवम् कुखुरा पालक किसान भरत चम्लागाँईका अनुसार बैकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्था रहेको छ । गतबर्षको यो समयमाभन्दा ४० प्रतिशत कममा अहिले अण्डा बिक्री गर्नु परिरहेको छ । अब केही समय यही अवस्था रहे व्यवसाय छाड्नुपर्ने अवस्था आउने उनले बताए ।

चम्लागाँईका अनुसार गतबर्ष यही समयमा २ हजार प्रतिकार्टुन बेचिएको अण्डा अहिले १२देखि १४ सयमा बेचिँदै आएको छ । एक कार्टुनमा २ सय १० वटा अण्डा हुन्छ । करिब ७ सय कार्टुन अण्डा उत्पादन हुने गरेकोमा ५देखि ६ सय कार्टुन मात्र खपत हुने गरेको चम्लागाँईले बताए ।

सरकारले बजारीकरणको व्यवस्था नगरेमा र यही अवस्था रहेमा आफूहरु बाध्य भएर व्यवसायबाट पलायन हुनुको विकल्प नरहेको चम्लागाँईले बताए । अस्वस्थ प्रतिस्पर्धाले समेत यहाँका किसान पीडामा रहेको उनले बताए । चितवन लगायतका ठाउँबाट ल्याइने साना अण्डा सस्तोमा दिइने गरेकाले यहाँको अण्डा नबिक्दा समस्या चुलिएको उनले जनाए ।

किसानहरुले अण्डा ग्रेडिङ गरेर बेच्नुपर्ने हुन्छ । प्रति कार्टुन १२ सयमा समेत अण्डा बेच्दा किसानको लागत नउठ्ने चम्लागाँई बताउँछन् । साना आकारका छनौटे अण्डा १२ सयमा समेत बिक्न मुस्किल हुने र अहिले त्यही प्रकृतिका अण्डाहरु बढी हुन थालेको उनले बताए । सरदरमा प्रतिकार्टुन अण्डा उत्पादन गर्दा १८ सय खर्च निस्कने गरेको र आम्दानी भने १६ सय मात्र हुँदा घाटाका कारण अब यो व्यवसाय खतरामा रहेको उनको दाबी छ ।

२०७५ साउन २० गते ६:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर