मन्त्रीलाई कालो झण्डा देखाएको वहानामा सरकारले व्यक्ति हत्या गरेको भन्दै आलोचना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २० गते १४:४६

काठमाडौं । मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिई हत्या गर्ने काम भएको भन्दै संघीय संसदमा सरकारको चर्को आलोचना भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले मानवअधिकार र संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रताको हक विरुद्ध बर्दियामा स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाएको नाममा व्यक्ति नियन्त्रणमा लिने र हत्या गर्ने काम भएको भन्दै सरकारको आलोचना गरेका हुन्।

सांसदहरु अमरेश सिंह, लक्षमणलाल कर्ण, भरत शाह लगायतको सो घटनाको विरोध गर्दै छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेका हुन्। उनीहरुले घटनाबारे सम्बन्धित मन्त्रीले सदनमा आएर जानकारी गराउन माग गरे।

सांसद लक्ष्मणलाल कर्णले सरकारले मन्त्रीलाई कालो झण्डा देखाएको निहुमा व्यक्ति हत्या गरेको भन्दै मानवअधिकार विरुद्धका सरकारका क्रियाकलाप विरुद्ध जागरुक हुन संसदको ध्यानाकर्षण गराए।

संविधानले सबैलाई वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने स्वतन्त्रत दिएको भएपनि भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले राममनोहर यादवलाई गैह्र न्यायिक रुपमा नियन्त्रणमा लिई हिरासतमा नै हत्या गरेको दाबी गरे।

प्रहरीले यादवलाई गैह्र न्यायिक तरिकाले राखिर अमानवीय ढंगले निर्रमम कुटपिट गरी बेहोस बनाएको र त्यसपछि उपचारको क्रममा स्थानीय अस्पताल घुमाएर अन्तमा काठमाडौंको शिक्षण अस्पताल ल्याउदा ल्याउदै मृत्यु भएको भन्दै यस घटनाको सम्बोधन गर्नुको सट्टा सरकार मौन बसेको आरोप लगाए।

उनले घटना बारे सम्बन्धित मन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा सरकार मौन बसेको भन्दै शून्य र विशेष समयमा उठाइएको प्रश्नको जवाफ दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले भने, ‘शून्य समय के हो विशेष समय के हो सरकारको वास्ता गरेको देखिएन।’

मानवअधिकारको हनन भइरहँदा संसद चुप लागेर बस्न नसक्ने भन्दै उनले संसदीय समिति गठन गरि सही प्रतिवेदन ल्याउने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए। सांसद भरत कुमार शाहले मन्त्रीलाई कालो झण्डा देखाएको निहुमा व्यक्ति हत्या गर्ने घटनाको छानविन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले पीडितलाई राहतको व्यवस्था गरी दोषीलाई कारवाही गर्न माग गरे।

२०७५ भदौ २० गते १४:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर