३७१ दिनको संघर्ष : अन्तत माफियाहरुको पोल्टामा गोदावरी राजधानी

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते १४:३८

दीपकबहादुर खड्का

गतवर्ष असोज ६ गतेदेखि दिपायल राजधानी हुनुपर्छ भनेर डोटीका जनतालाई सडकमा उतारेर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघको नेतृत्व लिदै संघर्ष गरी रह्यो।

आजको मितिसम्म आइपुग्दा १ वर्ष ६ दिन भैसकेको छ । दिपायल राजधानी कायम गर्नका लागि लगातार संघर्ष गरिरहँदा पुस १२ गतेदेखि ६४ दिनसम्म डोटीले ठूलो क्षति व्यहोर्नुपयो। आन्दोलनमा कतिपय घाइते भए, व्यवसाय प्रर्वदनमा ठूलो  घाटा बेहार्नुपर्यो। डोटेली जनताले यसरी संघर्ष गरिरहँदा यिनै जनताले मत जाहेर गरी जिताएका प्रतिनिधिहरुले दिपायल राजधानी नचाहेर गोदावरीमा राजधानी हुनुपर्छ भन्दै प्रदेश सभामा मतदान गरी डोटीको इतिहासमा २०७५ असोज १२ गतेदेखि पूर्णबिराम लगाए।

दशैंतिहार चाडपर्वको मुखमा दिपायलमा आयोगको परीक्षा चलिरहेका बेला प्रदेश सरकार र जङ्गल माफियाहरुले बहुमतको दम्भमा चोर बाटोबाट ल्याएको प्रस्ताव कदापी डोटेली जनतालाई स्वीकार्य हुनै सक्दैन। चाडपर्वको मुखमा अब डोटेली जनताले बन्द हडताल गर्ने औचित्य समाप्ति भएको मेरो व्यक्तिगत धारणा छ। अबका दिनमा डोटीमा रहेका व्यवसायीहरुलाई निर्धक्क तवरले व्यवसाय गर्ने वातावरण तयार गर्न हामी सबैले एकबद्ध हुनुको बिकल्प छैन।

कृषि ,उद्योग, व्यापार र पर्यटनलाई उच्च प्राथमिकताका साथ अगाडि बढाईने मेरो व्यक्तिगत धारणा छ तर दिपायलमा राजधानी हुनुपर्ने माग मेरो सदासदा रहिरहने छ। हामीले दिपायल राजधानीका लागि थुप्रै प्रयासहरु गर्यौं।

७ नं प्रदेशको राजधानी दिपायल नै किन भनेर बिज्ञ र यहाँका जानकारहरुको लेख सार्वजनिक गर्यौं। प्रदेश स्तरीय महोत्सवको आयोजना गर्यौं। हाम्रो मागलाई सम्बोधन कुनैपनि सरकारले गरेन, आन्दोलनका क्रममा बार्तामा बोलाउन त परै जाओस् घाइतेको उपचारमा समेत सरकारले ध्यान दिन सकेन। तसर्थ, चाडपर्वका मुखमा कोही कसैले पनि बन्द हडताल नगर्न नगराउन सबैलाई अनुरोध छ। हामीले इतिहास बिर्सिनुहुन्न। डोटेली राज्यको ६५४ वर्ष पुरानो ईतिहास मेटाउने काम कदापि डोटेली जनतालाई स्वीकार्य छैन।

दिपायलमा राज्यको अरबौं लगानी छ। दिपायलमा भएका संरचना बाँझो हुने अवस्थाको श्रृजना नहोस्। डोटीलगायत पहाडी ७ जिल्लालाई विकासको पहुँचबाट उपेक्षित नगरियोस्। यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक र मनोरम स्थान खप्तड, बडिमालिका, अपि, सैपाल, शुक्लाफाँटा रामारोशनलगायतका पर्यटकीय गन्तब्यको प्रचारप्रसार र पूर्वाधारमा जोडदिन सबैसित आग्रह गर्दछु।

पश्चिम सेती र बुढीगङ्गालगायतका नदीनालामा जलविद्युत परियोजना निर्माण गर्न र गौरीफण्टा दिपायल ताक्लाकोट, सेती लोकमार्ग र महेन्द्रनगर तिन्ङकुर नाका संचालनका लागि राज्यका निकायहरुसंग जोडदार माग गर्दछु।

यहाँ भएको कृषि उर्वर भुमिमा कृषिलाई आधुनिकीकरण मार्फत किसानहरुलाई अगाडि बढाउन प्रेरित गरियोस्। उद्योगहरु संचालनका लागि राज्यबाट कर छुटको व्यवस्थापन गरी उद्योगहरु सुचारु गर्न व्यवसायीहरुलाई उतप्रेरित गरियोस्। माघ ३ र असोज १२ गतेका दिनलाई डोटेली जनताले कालोदिनका रुपमा ग्रहण गरौं।

आन्दोलनका क्रममा घाइते भएकाहरुप्रति सु–स्वास्थ लाभको कामना सहित आन्दोलनमा सहभागी नागरिक समाज, राजनैतिक दल, विभिन्न संघ संस्था, व्यवसायीलगायत सबैलाई हार्दिक धन्यवाद। तपाईंहरुले गरेको मिहिनेत र परिश्रमका बापजुतपनि केही उपलब्धि हुन सकेन्। दिपायलमा राजधानी हुनुपर्छ भनी प्रत्येक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु।

हामीले गरेको बन्द हडतालका क्रममा समस्या तथा असुबिधा पाउनु भएका महानुभावहरु प्रति क्षमाप्रार्थी छु। आन्दोलनका क्रममा कुनै नेता पार्टीलाई हाम्रो ऐजेन्डाबाट चोट पुगेको हुनसक्छ। हाम्रो कसैसित ब्यक्तिगत अन्तरदोह कदापि होईन।आफ्नो अधिकारका लागि आन्दोलनका समयमा भएका सोध प्रतिरोधप्रति बैमनस्यता नराखिदिन आग्रह गर्दछु।

लेखक : खड्का होटल व्यवसायी संघ डोटीका अध्यक्ष तथा उद्योग वाणिज्य संघ डोटीका महासचिव हुन्।

२०७५ असोज १४ गते १४:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर