तलब भत्ता बढाउन खोज्ने सांसदहरुलाई साउदी अरेबियाबाट पत्र
आजको खबर | प्रकाशित : २०७५ कार्तिक २९ गते ६:०४

लिला (बिचारी) बहादुर बुढाथोकी
साउदी अरबिया लगायत विभिन्न खाडि मुलुकमा रातदिन पसिना चुहाउदै पसिनाका थोपाले पोलेका आखा मिच्दै, भोक÷तिर्खा, दुःख पीडा र कष्टकर जीवन भोग्दै १४/१५ घण्टा काम गर्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले बढीमा मासिक ३० हजार रुपैयाँ भन्दा बढी बचाउन सक्दैनन्।
मरुभूमिमा कैयौं नेपाली युवायुवती जोखिम मोलेर काम गर्ने क्रममा कसैको ज्यानै जाने गर्दछ भने कसैको धनसम्पति सखाप हुने खालका रोग लागेर बेहाल भएको खबर जताततै सुन्न र देख्न पाइन्छ। त्यतिमात्रै कहा होर काम गर्ने क्रममा अंगभंग भइ अपांग जिन्दगीसँग लडि रहेका नेपालीहरुको पनि नै लामै सुचि रहेको छ।
कतिपय नेपाली कामदारहरुले समयमा तलब पाएका छैनन् त्यसैगरी कम्पनीले अस्थायी आवासीय परिचय पत्र नबनाइदिदाँ परिचय पत्र बिनानै काम गरिरहेका छन्, सम्झौता अनुसारको करार अबधि सकिएर पनि स्वदेश फर्कन नदिने कम्पनीहरुदेखि पनि धेरै नेपाली कामदारहरु मारमा परेका छन्।
जान÷अञ्जनमा सजाय भोग्दै साउदीको जेलमा बन्दी जीवन बिताउने नेपालीदेखि लिएर कम्पनीको लापरबाहीको कारण नगद जरिवानामा तिर्न बाध्यात्मककारी अवस्था छन् खाडी मुलुक पसेका नेपालीहरु।
यता खाडी मुलुकमा रातदिन नभनी दुःख गर्दै कस्ट खेपिरहेका नेपाली युवा जमातको मुटु स्वदेशको पीडाले कुडिएर आउँछ। जताततै बिकराल अवस्था छ, देशमा अशान्तिको नारा घन्किएको छ। बलात्कार र भ्रष्टाचारले देश चुर्लुम्म छ।
रोगले थलिएर धेरै मानिसहरु ओछ्यानमा मृत्युसंग जुधि रहेका छन्। स्कुल, कलेज, घास–दाउरा, मेलापात, खेतबारी, चाडपर्ब, धाराकुवा गएकाहरु ढुक्कसँग फर्कने अवस्था छैन। देशको बारेमा सोच्ने हो भने एक मिनेट पनि सुत्न र बस्न सकिदैन। रगत उम्लिन्छ, मातृभुमि सिमानामा रोहिरहेको छ।
जिल्ला–जिल्लामा सामान्य उपचार गराउन सक्ने हस्पिटल छैन, समयमै अौषधि उपचार नपाइ गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ। तलब बढाउनु पर्छ भन्दै माग गर्ने नेपाली सांसदज्युहरु सोध्नुपर्ने प्रश्न, “देश र जनतालाई उपलब्धिमुलक काम के–के गर्नु भो त ?’ लाखौ लाख नगद खर्चेर मरुभूमि आएका नेपाली कामदारहरुले मासिक ३० हजार रुपैयाँ बचाउन सकेका छैनन्।
आफ्नो परिवारको घर खर्च र ऋणको समुन्द्रमा चुर्लुम्म डुबेका नेपाली श्रमिकहरुका बारेमा कहिले सोच्ने कोशिश गर्नुभएको छ कि तिरतार दुखबिमार धानेका होलान यो बिषयमा सोच्नु भाको सांसद ज्युहरुले? खाडी मुलुकमा रातदिन घोटिदै स्वदेश पठाएको खुनपसिन र रेमिट्यान्स्मा हालीमुहाली गर्न पल्केका महाशयहरुले अबता केहि सोच्ने कि देश र जनताप्रति?
उद्धारको पर्खाइमा रहेका पीडित र अन्याय खेपिरहेका आम नेपाली नागरिकहरुको बारेमा कहिले सोच्नु भएको छ कि सांसदज्युहरु? खाडीको जेल,अस्पताल र कम्पनीमा रहेका पिडित नेपालीहरुको अबस्था के कसरहेका?सम्बन्धित निकायसँग सत्यतथ्य बुझि पीडित कामदारहरुलाई राहात दिलाउन सांसदहरुज्यूको कर्तव्यबोध किन हुन नसकेको होला?
खाडिमा उकुसमुकुस समस्याहरु भोगिरहेका नेपाली कामदारको बारेमा कहिले सांसद भबनमा आवाज उठछ? अनि त्यो आवाज खाडीका कम्पनी मालिकहरुले सुन्छन त सांसदज्युहरु?
हाल : साउदी अरेबिया
डिसी नेपाल गल्फबाट साभार