कथा–‘बाजेको पादको आवाज सुनेर मुख रातो पारेका बुहारीहरु’–महेश्वर पन्त

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ११ गते ६:४५

यो दुनियाँमा सबैभन्दा अद्भूत प्राणी भनेकै मान्छे हो भन्ने लाग्दछ। लवाइ, खुवाइ, हिँडाइ, बसोबास, भेटघाट, बातचित, सल्लाह, झगडा आदि सबै अनौठाका हुन्छन् मान्छेका। सबैका आआफ्नै बानी ब्यहोरा। मान्छे खान्छ एकतिरबाट तर फाल्छ धेरैतिरबाट। डकार्छ, खकार्छ, हग्छ, थुक्छ, नाकबाट फाल्छ, कानबाट फाल्छ, पिसाबबाट फाल्छ, आँखाबाट फाल्छ, हरेक रौँका फेदबाट पसिना फाल्छ। तर उँभो डकार (उत्तान वायु) र उँधो पाद (अपान वायु) हावाको रूपमा निकाल्छ। यी दुबै प्रकारका वायु विसर्जनको तरिका पनि मान्छे नै पिच्छे फरक हुन्छ। कसैले निकालेको थाहा नै पाइँदैन त कसैले निकालेको दुनियाँलाई खबर हुन्छ।

मलाई यो कथा लेख्ने मन थिएन तर वास्तविकताको एकदम नै नजिक, गाउँकै वल्लोपल्लो घर, छरछिमेकमा हुने यस्ता कथाहरूको पनि अभिलेख भई यी युगौँयुगसम्म बाँचिरहनु पर्दछ भन्ने कुरा मनमा आयो। त्यसैले गर्दा आफूले भोगेका, देखेका सुनेका अनुभव गर्दागर्दा वाक्क लागेका र कैलेकहीँ हाँसोको लहर फैलाउने केही प्रसङ्गलाई यस कथामा जोड्न लागेको छु। समाजका यस्ता अनौठा पात्रहरू र त्यो स्वतन्त्र र संयुक्त परिवारको बहुआयामिक स्वरूप अहिलेको महँगो तथा हरेक व्यक्ति आत्मकेन्द्रित बनेको जमानामा कहाँ पो देखिएलान् र ? ती जमघटका, चौताराका, ती पानी पँधेरा, ती खेतबारीमा हुने रमाइला घटनाहरू भविष्यमा कति नै पो दोहोरिएलान् र? त्यो घरभरि सारा परिवार बसेर हुने हाँसो, रमाइलो, अँगेनामा दन्कने दाउराको आगो, ओदानमाथि कुँडेभरि दूध, आगो ताप्न झुम्मिएका घरका सदस्यहरू, भान्सामा भात पकाउँदै बुहारीसँग बात मारिरहेकी बूढी सासू, सिकुवामा पल्टिएर हुक्काको ट्वार्र ट्वार्रसँगै बेलाबेलामा हुक्काको ट्वाटर््वार् भन्दा पनि चर्को आवाजमा पादिरहने ती ससुरा।

बाजेको पादको आवाज सुनेर मुख रातो पारेका तर चाहेर पनि हाँस्न नसक्ने बुहारीहरू। हजुरबाले घरै उचाल्ने गरी छोडेको भुइँक्क, भुइँक्क आवाजसँगै खितखिताउँदै हाँस्ने ती छोरी नातिनातिनाहरू। बाहिर ढोकामा घरको सिकुवामा बसेर साँझको भात कुरिरहेका खेतालाहरू, हाम्रो गाउँ समाजमा अब कति नै देख्न पाइन्छ र ! यस्तै समाजबाट जन्मिएको, भनिँदै, सुनिँदै, गाउँभरि डुलेको एउटा हँसिलो कथा कोर्न मन लाग्यो। यो कथासँग मिल्दोजुल्दो कथा एउटा गाउँमा मात्र होइन, नेपालका हरेक गाउँ, टोल, छरछिमेकमा भएर पनि कथाको रूपमा नआएको हुनसक्छ । वास्तविकता बोकेका त्यस्ता कथाहरूमध्ये कति त मलाई थाहा नभएको पनि हुन सक्छ। तर हाम्रै गाउँ समाजमा निद्रा विथोल्ने, पादेर वाक्क पार्ने पदुवाकाजीहरू आज पनि उत्तिकै छन् भन्ने कुरामा भने म ढुक्क छु।

यो कथा मेरो भन्दा पारि गाउँको हो जहाँ एउटा ठूलो संयुक्त परिवारको बसोवास थियो। त्यस घरलाई सबैले काजीको घर भन्थे। पुराना दरवारका काजी खलक रे उनीहरू। त्यसैले उनीहरूको घरलाई काजीको घर भनिएको र घरका बूढादेखि भरखर जन्मेका लोग्नेमान्छे जतिलाई काजी र महिलाहरू सबैलाई कजिनी भनिन्थ्यो। त्यहाँ अरू पनि काजीका घरहरू थिए तर यो घरका बूढाकाजी अर्थात् माइला काजी पनि भनिने हँसिला, रमाइला झण्डै छ फिट अग्ला हृष्टपुष्ट बूढा जसको खास नाम जे भए पनि पदुवा कजी भनेर पनि चिनिन्थ्यो।

धेरै जग्गाजमीन, फलफूलका बगैँचाहरू भएका काजी खलकहरूको गाउँको बसाइ कुनै धनाढ्य शहरिया परिवारको भन्दा कुनै हिसाबले पनि कम थिएन रहनसहन, ठाँटबाँट हरेक दृष्टिले। काजीहरू शानका साथ बसेका थिए यस गाउँमा। कसैसँग डराउनुपर्ने प्रश्नै थिएन। झन् माइला काजी त छ भाइ छोरा, बुहारी, तीनओटी छोरीहरूका साथ ठूलो दरबारजस्तै घरमा नोकरचाकरसहित ठाँटका साथ गाउँमा हैकम चलाएर बसेका थिए। उनले बोलेको कुरालाई निसाफसरह लिइन्थ्यो गाउँमा। उनको आदेशलाई गाउँलेहरू कसैले काट्न सक्दैनथे। तर एउटा अचम्मको जिज्ञासा भने सधैँ रहिरह्यो गाउँलेहरूमा— “यी माइला काजीको पेटमा कति हावा होला ? किनकि उनको एउटा अचम्मको विशेषता थियो—उनी चाहेको वेलामा पाद्न सक्थे। मानौँ आजकल पाइने ग्यासले भरिएको सिलिण्डरजस्तै । सिलिण्डरमा त बरु निश्चित किलोग्रामको ग्यास हुन्छ सिलिण्डरको आकारअनुसार र त्यो सकिएपछि ग्यास निस्कँदैन, तर उनी भित्र भएको ग्यास सकिएको कहिल्यै थाहा भएन।

कहिले अचम्म पारे, कहिले दिक्क पारे, कहिले बेस्कन तर्साए अनि कहिले कतिलाई चिढ्याए पनि काजीले पादेर। अचम्मको कुरा उनले विवाहको लागि जग्गेमा बस्दा पनि आफ्ना साइँला भाइलाई बोलाएर सोधेका थिए रे— ए, साइँला ! जग्गेमा पाद्न हुन्छ कि हुँदैन ? भनेर। साइँला काजीले बालाई सोध्छु भनेछन्। बाले जग्गेको मण्डपमै पाद्ने अनुमति त दिएन छन् तर पिसाब गर्ने निहुँमा करेसामा जानु र पाद्नु चाहिँ भनेछन्। उनी करेसाबारीमा पिसाब गर्न जाँदा जन्तीले बुझेर मन्दमन्द हाँसेछन् अनि जिस्क्याएछन् तर उनको त्यो अक्कल बेहुली पक्षकाले भने बुझ्न सकेनछन्।

उमेर छँदा उनले गरेका उट्पट्याङ कुराहरू सम्झँदा अचम्म लाग्छ। विवाह गरेर घरमा दुलही ल्याएपछि उनले आफ्नो दैवीशक्ति आफ्नी भरखर घर भित्र्याएकी दुलहीमाथि प्रयोग गर्ने निधो गरेछन्। काजीको घरमा सबैले खाना नखाएसम्म भान्सामा एकजना घरमूली बसिरहने प्रचलन छ। त्यसमा पनि बुहारीले अन्तिममा खान्छन् खाना। त्यो दिन पनि त्यस्तै भएछ। उनकी नयाँ दुलहीलाई आमाले अन्तिममा भान्साको चौकामा राखेर खाना खुवाउँदै थिइन्। त्यस दिनका दुलाहा माहिला काजी भान्साको बाहिरपट्टि ढोकामा लुकेर पाद्न थालेछन्।

जब दुलहीले भातको गाँस मुखमा हाल्दिरहिछिन् दुलाहाले उँधोबाट ट्वाँट्टको आवाज निकाल्दा रहेछन् । केही बेरसम्म यस्तै खेल चलेछ। दुलहीले गाँस मुखमा लग्यो कि काजीले पाद्थे। केहीबेर लगातार यस्तै गरेर उनले दुलहीलाई जिस्क्याए छन्। दुलही लाजले भुतुक्क भइछिन्। खानेकुरा खानै सकिन छिन्। उनको मुख रातोपिरो भएछ। यसरी उनी आत्तिएपछि आमाले आगो फुक्ने ढुङ्ग्रीले झटारो हानेर काजीलाई लखेटिछन् । काजी इच्छानुसार पाद्न सक्थे। उनको आफ्नै श्रीमतीलाई जिस्क्याउँने तरिकालाई पनि संसारमै अद्भूत, कहिल्यै कसैले नआज्माएको हँसिमजाकका रूपमा लिन सकिन्छ।

सभा सेमिनारमा कसैसँग रीस उठ्यो भने उसले बोल्न थाल्यो कि पादिदिन्थे। उसलाई बोल्नु कि नबोल्नु बनाइदिन्थे । नबोलौँ भने भन्नै पर्ने कुरा छ, बोलौँ त काजीले ट्वाँट्ट र भ्वाँक्क पारिदिन्छन्। मानौँ कि, आफूले बोलेको कुरालाई पादले उडाइदिएकोजस्तो अभास हुने गरी पाद्छन्। तर उनी खुशी भएको वेलामा भने बोलीसकेपछि ताली बजाएजस्तै गरी पादिदिन्थे। उनकै गाउँमा साथै वरपरका गाउँमा समेत पदुवा काजी भनेर परिचित थिए, उनी। शायद, त्यतिवेला गिनिज बुक अफ वल्र्ड रेकर्डमा लगेको भए लगातार धेरै लामो समयसम्म पाद्ने व्यक्ति नेपाल कै माइला काजी हुन्थे होलान्।

कहिलेकहीँ मान्छेलाई आपत्मा पनि पार्थे उनले। आफ्नै ससुरालीमा दुल्हन फर्काउन जाँदा सासूलाई भान्सा नै छोडौँजस्तो बनाएछन्। घरभरि सालासाली, भान्सामा नयाँ सासु हुँदाहुँदै थाहै नपाएजस्तो गरी चर्को आवाजमा पादेछन्। सबको भागाभाग तर विचरी सासू त भाग्न मिलेन भान्सा छोडेर। चुल्हातिर फर्केर रातो मुख बनाएर, दाह्रा किटेर हाँसो रोकिछन्। पछि छोरीले “उहाँको बानी नै यस्तै हो, ग्यास्ट्रिक छ आमा” भनिछन्। काजीले पादेर बाघ तर्साएका छन् भनेर उनको घरको हली झक्कड वि.क.ले भन्थ्यो। उसले देखेकै रे ! राती खेतमा पानी लगाएर फर्कंदा बाटोमा अगाडि टिलिक्क आँखा टल्काउँदै बाघ बसेको रहेछ रे। काजीले डरले हो वा जानेर हो बेस्सरी चर्को आवाजमा पादेछन्। उनको पादको आवाज सुनेर बाघ सुइँकुच्चा ठोकेछ।

अनि काजीले पनि जुँगामा ताउ लाउँदै ‘देखिस् झक्कडे ! मेरो पादको कमाल ? बाघको पनि सातो गयो।’ यो घटना देखेर झक्कडेले ‘हो काजीसाप ! हरको त कुरै नअरम् भो पादले त यत्रो कमाल अर्च। आखिर काजीको पाद् भनेको काजीपाद नै हाूे भन्दै डरले सातो गएर निस्किएको अनुहारको पसिना पुछ्दै भनेछ। त्यो घटनापछि त काजीको पादको बहादुरी हावाभन्दापनि छिटै फैलिएछ। त्यसपछि त उनी पदुवा काजीको नामले झनै चर्चित भएछन्।
उनलाई समस्या पर्ने वा त्यसले अरूलाई समस्या पार्नेचाहीँ उनी पाहुना भएर जाँदा हुन्थ्यो। विवाहमा जन्ती भएर जाँदा जग्गेको वरीपरी बस्दा वा राती यसो जग्गेको छेउमा बसेर विवाह गराउने पंडितलाई निद्राका कारण यसो आँखा लाग्यो भने पादले नै बिउँझाइदिन्थे।

काजीको ट्वाँट र भ्वाँकको आवाजले बाजेको मन्त्रलाई बिथोलिदिँदा वेलावेलामा पंडितले यस्तो हर्कत बन्द गर्न आग्रह गर्दा पनि जन्तीपक्षले उनलाई भन्न डराउँथे। उता दुलहीको हाँसो रोक्न नसकेर घुम्टोभित्रै हाँसोले कोक्किएर बेहाल हुन्थ्यो। यो पाद पनि अनौठो चिज हो। काजीको पेटमा भएको हावाले कैल्यै आवाज प्रतिवन्द पाएन। एकपटक टाढा गाउँका नातेदारकोमा काजी गएका थिए। व्रतबन्धको काम सकेपछि राती भजन चलिरहको थियो । अलि उमेर ढल्किसकेका काजी निद्राले गर्दा भुइँमा ढल्केछन्। थुप्रो मान्छेको भीडमा काजीले मान्छेतर्फ चाक फर्काएर तोप पड्काएझैँ पाद पड्काउन थालेछन्।

केही युवाहरूलाई असैह्य भएछ। काजीलाई उठाएर एकजना युवाले भनेछ “ए बूढा बा ! एक सुका दिन्छु बरु जाउ हगेर आउ।” त्यसपछि काजीलाई के चाहियो ! रीसले गर्जेछन् काजी। घरका मान्छेलाई नसोधी बूढा त घरतर्फ राती नै लागेछन्। उनको कथा यतिमै सकिँदैन। वेलावेलामा अचम्मका आश्चर्यचकित बनाउने हर्कत गरे, पदुवा काजीले। सबैका यस्ता केही घटना होलान् तर उनको जस्तो कथा मैले सुनेको छैन। उनले बाजी ठोकेर पनि पादे। एकपटक गाउँमा केटाहरूले काजीलाई च्यालेन्ज गरेर भनेछन् “काजीसाप ! हरले हरेक पाइलैपिच्छे पाद्दै यहाँट ऊ तो पारि गाउँमा पुगेर फर्किन सक्नुहुन्च भन्देखि हामी चारजनाले एकदिनको पैसो नलि काम अर्चम्, सक्नुभन भने हामी चारजनालाई एकदिनभरको पैसो तेसै काम नअरी दिन पर्च है त !” गाउँ देखाउँदै एकै सासमा प्रस्ताव सक्यो, डेरो जैसीले।

“मेरो नामै पदुवा काजी हो केटाहरू ! तेरिमा लाने हो ! लौ हिन” भन्दै काजीले पहिलो पाइलामै एक ट्वाँट चर्कोसँग हाने। केटाहरूले काजीलाई घेरेर अगाडी लगाइ अर्को गाउँतिर लागे। उनले चालेको पाइला र पादको आवाज बराबर आइरह्यो। कुनै पनि वेला केही भन्ने अवसर दिएनन् काजीले। चारजनाले हारे, पदुवा काजीले जिते।
मान्छे कतिलाई घरमा पादको कुरा गर्न पनि गाह्रो हुन्छ, पाद्नको त परै जाओस्। एक रात मेरो घरमा आका थिए पदुवा काजी। आमाले खट्टे भुटेर खान दिनुभयो। प्रशस्त घिउ हालेर दुधसँग बिस्तारै चपाएर खाए, पदुवा काजीले।

राती मेरी श्रीमती जुठेल्नामा एकसुरले भाँडा माज्दै रैछिन्। काजीले करेसाबारीमा पिसाब गर्दै ठूलो स्वरले र लामो ट्वार्र…पार्दै पादेछन्। मेरी श्रीमती डरले एकैसासमा दौडेर घरभित्र पुगिछन्। पछि वास्तविकता बुझेपछि रातभर हाँसेर सुत्नै सकिएन। ब्यूँझियो कि श्रीमती मुर्छा परेर हाँस्थिन्। अहिले पनि त्यो कुरा सम्झियो कि केही बेर नहाँसेको दिन हुँदैन। मेरो घरमा पनि सानातिना पदुवा काजी छन् तर मेरो ससुरालीमा भने कतैबाट पादको आवाज आउँदैन। त्यसकारणले पनि मेरो श्रीमतीलाई यस्तो आवाजले अचम्म पार्नु स्वाभाविक हो।

धेरैवर्षपछि, लगभग आजभन्दा २० वर्षअघि होला ! माइलाकाजी अर्थात् पदुवा काजी बितेको खबर आयो। रमाइलो लाग्यो। मैले सोधेँ के भएछ बूढालाई ? भर्खर ८० वर्ष लागेका थिए ।” मलाई खबर सुनाउने मान्छेले भने “खै ! कजिनी बजैले भन्नुभइतो, खाना खार बार्दलीमा सुतित्ते अरे, राती १२ बजेसम्म त ट्वाँट र प्वाँट पारेर पाद्दै थिए अरे एकछिनपछि आवाज आउन छोडेछ। बजैले अचम्म मानेर बार्दलीमा गएर छाम्दा बूढो त थेनन् अरे।”

२०७५ मंसिर ११ गते ६:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर