वैदेशिक रोजगार विभागको अनलाईन प्रणालीले झन भद्रगोल, सेवाग्राहीको फ्लाइट नै छुट्यो

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २५ गते १४:५६

काठमाडौं । मंगलबार पनि वैदेशिक रोजगार विभाग ताहाचलको बाहिर पट्टि निकै भिडभाड थियो । वैदेशिक रोजगारका लागि साउदी, कतार, दुबई, बहराईन, ओमानलगायत मुलुकमा जानका लागि पूर्व, अन्तिम तथा पुनः श्रम स्वीकृति लिनका लागि विभाग बाहिर उभिएका निकै ठूलो संख्यामा उनीहरु निरास मुद्रामा भेटिए । कति सेवाग्राहीको फ्लाइट समय मंगलबार कै भए पनि उनीहरु विभागको बाहिर नै उभिन बाध्य थिए । कोहि आफ्नो फ्लाइट छुटेको बताइरहेका थिए ।

विभागले सेवाग्राहीलाई अनलाईन मार्फत नै श्रम स्वीकृतिका लागि मिति तोकि दिने र सोहि तोकिएको मितिमा सेवा दिने बताउँदै आएको थियो । तर अनलाईन फारममा तोकिएको मितिमै पनि सबैले सेवा नपाएको गुनासो सुनिएको छ ।

अर्को आपकालिन अबस्थामा विभागबाट सेवाग्राहीलाई उनीहरुको टिकटको फ्लाइट समय हेरेर फास्ट्रयाक सेवा उपलब्ध गराउने विभागले बताएको थियो ।  यो कुरा कुरैमा मात्रै सिमित हुँदा फ्लाइट समय टोकनमा उल्लेखित मितिभन्दा अगाबैको हुने धेरै सेवाग्राहीहरुको टिकट रद्द हुँदै आएको गुनासो सेवाग्राहीले गरेका छन् ।

मोरङ घर भएका नेत्रबहादुर कटुवालको कतारका लागि सोमबार नै फ्लाइट थियो । तर उनको टोकन मिति भने निकै दिन पछाडीको थियो । उनी तीनचार दिनदेखि नै विभागको बाहिर लाईन बसिरहेका थिए ।

‘आइतबार आउँदा सोमबार बिहान आउनु भन्यो सोमबार बिहान आउँदा भित्र पस्न दिएन टिकट छुट्यो’ कटुवालले भने ।  तर उनको टिकट छुटिसक्दा पनि विभागमा उनको पुनः श्रम स्वीकृतिका लागि काम नै भएको थिएन । मंगलबार पनि दिउँसो साढे एक बजेसम्म उनको श्रम स्वीकृतिको पालो नै आएको थिएन । उनको टिकट छुटेपछि अब फेरि टिकट लिनुपर्ने हुन्छ । दुख गरेर पैसा कमाउन जाने सपना बोकेका युवाहरुलाई यसरी विभागले दोहोरो टिकटको पैसा तिर्नुपर्ने समस्यामा पारेपछि धेरै युवाहरु मारमा परेका छन् ।

विभागमै भेटिएका धनुसाका हरिशंकर काफ्लेको कतारका लागि ९ तारिखको फ्लाइट थियो ।

हरिशंकरले भने, ‘म ६ तारिख देखि नै विभागको बाहिर छु । तर पनि विभाग भित्र पस्न समेत पाइन, मेरो ९ तारिखको फ्लाइट छुट्यो ।’ डिसेम्बर ९ मा फ्लाइट भएका हरिशंकरले डिसेम्बर ११ सम्म पनि श्रम स्वीकृति पाएका थिएनन् । उनी विभागमा श्रम स्वीकृतिका लागि दिउँसो १ बजेसम्म लाइनमा नै थिए ।

आइतबार मात्रै १०/१२ जनाभन्दाबढी सेवाग्राहीहरुको फ्लाइट छुटेर रुँदै घर फर्कनु परेको बताउँछन् हरिशंकर ।

विभागको गेटबाट भित्र प्रवेश पाएका सबै सेवाग्राहीले सेवा पाउने कोहि पनि रित्तो फर्कनु नपर्ने बताउँदै आएको थियो । तर वास्तविकता त्यस्तो नभएर सेवाग्राही दिनभर लाईन बसेर पनि काम नगरी फर्कनुपर्ने अवस्था विभागमा रहेको पाइएको छ ।

वैदेशिक रोजगार विभागका उपसचिव सुरेश जोशि भन्छन्, ‘सेवाग्राहीहरुले पहिले श्रम स्वीकृति लिएर मात्र टिकट लिनुपर्यो । उनीहरुले श्रम स्वीकृति लिएर टिकट लिँदा फ्लाइट छुट्ने समस्या हुँदैन ।’

उपसचिव जोशिले भने, ‘सेवाग्राहीले श्रम स्वीकृति अगाबै लिएको टिकट छुटे हामी जिम्बेवारी हुँदैनाँै । त्यो हाम्रो जिम्माको विषय भएन । यदि श्रम स्वकृति लिइसकेपछि लिएको टिकट छुट्यो भने चैँ त्यसको जिम्बेवारी हामीले लिनुपथ्र्यो ।’

दशैं, तिहार, छठ लगाएतका पर्वहरु मनाउन घर फर्र्र्किएका युवाहरुको संख्या बढेकोले विभागमा पुनः श्रम स्वीकृति लिन आउने सेवाग्राहीहरुको   अत्याधिक चाप बढेको विभागले जनाएको छ ।

एक दिनमा १ हजार सेवाग्राहीलाई सेवा

विभागले दैनिक पुनः श्रमस्वीकृति (रिइन्ट्री) सेवा ९ सयजना सेवाग्राहीलाई दिन सक्ने र १ सय जति सेवाग्राहीलाई कानुनी प्रमाणीकरण (लिगलाईजेसन) सेवा दिन सक्ने बताउँछन् विभागका उपसचिव जोशी ।

विभागसँग ९ सय देखि १ हजारसम्म सेवाग्राहीलाई सेवादिन सक्ने सामथ्र्य भएको र सोही संख्यामा सेवा दिँदै आएको जोशीको भनाई छ ।

अनलाईन टोकन प्रणालीबाट पनि किन हटेन सेवाग्राहीको लाईन ?

ताहाचल विभागमा वषौँदेखिको लाइन अहिलेसम्म पनि उस्तै नै छ । सेवाग्राहीको सहजताका लागि भन्दै विभागले यहि मंसिर १६ गतेबाट अनलाईन टोकन प्रणाली सुरु गरिसकेको छ । अनलाईन टोकन प्रणालीले पनि सेवाग्राहीको लागि सहजता भने ल्याउन नसकेको देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचलमा कर्मचारीहरुले नै काम ढिलाई गर्ने गरेका गुनासाहरु सुनिने गरेका छन् ।

विभागमा भेटिएका मोरङका गोविन्द बहादुर विष्टले विभागका कर्मचारीहरुले बाहिर बिचौलियाबाट घुस पाउनका लागि सेटिङ मिलाएर काम ढिला बनाउने बताए । विष्टले भने, ‘विभागमा कर्मचारीहरु काम ढिला गरिदिने गर्छन्, बाहिर लाईन बढेपछि दलालहरु २ हजार दिने भए काम तुरुन्त हुन्छ भन्दै आउँछन् । दलालको हातमा २ हजार राखिदिएपछि काम तुरुन्त हुन्छ । कर्मचारीको मिलोमतो नभएको भए यस्तो कसरी हुन्छ ?’

विभागमै भेटिएका झापाका तुलसी उप्रेती पनि विभाग बाहिर भिडभाड भएपछि बिचौलियाको चलखेल बढेको बताउँछन् । उनी भन्छन् ‘हामी यसरी लाइन बस्नुपर्छ बिचौलियाहरुले भित्र उनीहरुकै नाममा एकैछिनमा काम गरेर ल्याउँछन् यसमा कर्मचारीहरुकै मिलोमतो छ ।’

विभागमा श्रम स्वीकृतिको काम किन ढिलाइ हुन्छ भनेर प्रश्न गर्दा विभागले मान्छेले गर्ने काम हो ढिला त भइहाल्छ नि, भन्ने जवाफ दिँदै आएको छ । विभागका उपसचिव जोशीले विभागमा ५७ जना भन्दा बढी कर्मचारी रहेको र सबैले आआफ्नो ठाउँबाट सक्दो सेवा प्रवाह गरिरहेको बताए ।

२०७५ मंसिर २५ गते १४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर