मोबाइल नचलाई बस्नेलाई एक करोड १४ लाख रुपैयाँ उपहार

आजको खबर   |    प्रकाशित : २०७५ पुष ४ गते ६:०८

नेपालमा मोबाइलको प्रयोग सर्वब्यापी बन्दै गएकाे छ। नेपालमा मात्रै हाेइन विश्वभर नै  मोबाइलको प्रयोग सर्वब्यापी बन्दै गएकाे पाइन्छ । नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँ-नयाँ ब्राण्ड भित्रिरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन ।

महंगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो लागिरहेको छ । नेपालमा पछिल्लो समयमा मिड रेन्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ ।

तर भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपैयाँ) नगद उपहारको घोषणा गरेको छ ।

भिटामिन वाटरको #nophoneforayear चुनौतीका लागि व्यक्तिले तीन सय ६५ दिन स्मार्टफोन नचलाइ बस्नुपर्नेछ । यसका साथै आफ्नोबाहेक अरु कसैको फोन वा ट्याब्लेट पनि चलाउन पाइने छैन । प्रतिस्पर्धाको अवधिभर प्रतिस्पर्धीले एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्छ । एक वर्षसम्म नियममा बस्नेलाई कम्पनीले एक लाख डलरको पुरस्कार दिनेछ । सुन्दा सजिलो लाग्ला तर तपाईंले कम्पनीलाई यसका लागि आफू लायक छु भनेर विश्वास दिलाउनुपर्छ ।

यो अचम्मको प्रतिस्पर्धामा भाग लिन तपाईंले ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ब्रेक चाहिएको छ भनेर बताउनुपर्नेछ । यसमा तपाईंले ह्यासट्याग #nophoneforayear र #contest पनि प्रयोग गर्नुपर्छ । रचनात्मक, रमाइला र क्वालिटीको आधारमा निर्णय लिइनेछ । प्रतिस्पर्धामा भाग लिनका लागि जनवरी ८ तारिखसम्मको समय छ । कम्पनीले जनवरी २२ तारिखमा प्रतियोगीको घोषणा गर्नेछ ।

छानिएका प्रतियोगीले फोन छुनै नपाउने भन्ने होइन, भिटामिन वाटरले उनीहरुलाई निकै पुरानो ह्यान्डसेट उपलब्ध गराउने छ जसमार्फत कुराकानीमात्र गर्न सकिनेछ ।

भिटामिन वाटरले यो एक ठट्टा मात्रै नभएर प्रतिस्पर्धा नै भएको पुष्टि गरेको छ । ब्रान्ड म्यानेजर नातालिया सुवारेजले सिएनबीसीलाई दिएको जानकारी अनुसार मानिसहरुले आफ्नो खाली समयमा केही रमाइलो कार्य गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो प्रतिस्पर्धा गराउन लागेको हो ।

प्रतियोगीले स्मार्टफोन प्रयोग गरेको छ छैन भनेर कसरी पत्ता लगाउला भनेर सोचिराख्नुभएको होला । यसबारे पूर्ण नियम सार्वजनिक भइसकेको छैन तर कम्पनीका अनुसार पुरस्कार प्रदान गर्नुअघि प्रतियोगीले पोलिग्राफ टेस्टको सामना गर्नुपर्ने बताएको छ ।

२०७५ पुष ४ गते ६:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर