घोषित भए डा. पुन चाङ सीएनएन हीरो २०१८

आजको खबर   |    प्रकाशित : २०७५ पुष ५ गते ३:१०

गरिबीका कारण अस्पतालको प्रांगणमा सुतेर उपचार गराउन बाध्य परिवारको लागि गाँस, बास तथा उपयुक्त सहयोग जुटाउँदै आएका पेरुको लिमाका डा. पुन चाङलाई सन २०१८ को सीएनएन हीरो घोषणा गरिएको छ।

पेरुको लिमास्थित एक डाक्टरको रुपमा तालिम लिइरहेका बेला डा. पुन चाङले आर्थिक अवस्था कमजोर भएका आमा बुवासँग देशका गाउँ गाँउबाट स्वास्थ्य उपचारका लागि टाढा टाढाको अस्पताल धाउन बाध्य धेरै बालबालिकाको उपचार गरेका थिए।स्वास्थ्य उपचारको खोजीमा धेरै मानिसका निम्ति डाँडा काँडा तथा पहाडको माथि माथि हिड्नु, खोला तरेर जानु तथा असुरक्षित अप्ठेरो बाटोमा यात्रा गर्नु खतरनाक यात्रा हुनसक्छ ।

यस्तै अप्ठेरो परिस्थितिको सामना गर्न बाध्य पेरुको लिमाका धेरै परिवार आफ्नो घरबाट धेरै टाढा रहेको अस्पतालको भुईंमा सुतेको डा. पुन चाङले देखे। अनि त्यस्ता आमाबावु जसको आर्थिक अवस्था कमजोर थियो उनीहरु आफ्ना छोराछोरीको उपचारका लागि अस्पतालको प्रांगणमा सुत्न बाध्य थिए। यसै वर्ष सिएनएनसँगको एक अन्तवार्तामा डा. पुन चाङले भनेका थिए, ‘अस्पतालको आंगनमा सुतिरहेको परिवारको तस्विर मेरो मष्तिष्कबाट हट्नै सकेन । तसर्थ मैले तिनीहरुका निम्ति केही गर्नुपर्छ भन्ने प्रण गरें।’

अस्पतालमा उपचार गराउन आउने साना साना केटाकेटी र उनीहरुका परिवारलाई बस्ने, खाने तथा आवश्यक सहयोग जुटाउन अथक प्रयास गरे बापत आइतबार राति डा पुन चाङलाई सन २०१८ को लागि सीएनएन हीरो घोषणा गरियो। टपटेन सीएनएन प्रतिश्पर्धीलाई उछिन्दै डा पुन चाङले भोटिङको आधारमा पुरस्कार हात पारेका हुन्। सन २००८ मा उनले इन्सपिरा नामक एक गैर नाफामुखी सेल्टरको स्थापना गरे जसले आजसम्म ८०० भन्दा बढी परिवारलाई सहयोग गरिसकेको छ।

सेल्टरमा आउने आर्थिक अवस्था दयनीय भएका आमाबावुका छोराछोरीलाई उनीहरु आफ्नै घरमै भएको आभाश होस र उनीहरुलाई आफू बालबालिका भएको महसुस होस् भन्ने उद्देश्यका साथ सेल्टरलाई डिजाइन गरिएको छ । आफूले सुरु गरेको सामाजिक कामलाई अझै बढावा दिन सहयोग पुग्न सकोस भन्ने उद्देश्यका साथ डा पुन चाङले एक लाख डलर राशीको पुरस्कार प्राप्त गर्ने छन्। ’यो पुरस्कार रकमले हामीले आफ्नो नयाँ सेल्टर बनाउन सुरु गर्न सक्छौं, हाम्रो सहयोगलाई हामी तीन गुणा बढी बनाउन सक्छौं,’ डा पुन चाङले भने, ‘सीएनएनलाई धेरै धेरै धन्यवाद ..सबैलाई धेरै धेरै धन्यवाद ।’

‘हाम्रा बालबालिका वास्तबिक हीरोहरु हुन्,’ डा पुन चाङले भने, ‘तपाइँहरु सबैलाई मुरीमुरी धन्यवाद जसले हामीलाई विश्वास गर्नुभयो र मायाको कुनै सिमाना हुँदैन भन्ने प्रमाण पेश गर्नुभयो।’एजेन्सी ।

२०७५ पुष ५ गते ३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर