अन्तरास्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीजको निर्वाचन सम्पन्न
आजको खबर | प्रकाशित : २०७५ पुष ५ गते ५:००

अमेरिका- अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को निर्वाचन सम्पन्न भएको छ।
नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुका बीच नेपाली भाषासाहित्यको विकासविस्तार गरी नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा अमेरिका वासिङ्टन डीसीमा यो संस्थाको स्थापना भएको थियो।यो संस्थाको हरेक चार वर्षका लागि कार्यसमितिको निर्वाचन हुने गर्छ। सम्पन्न भएको निर्वाचन२०१८-२०२२ को नयाँ कार्यकालका लागि अध्यक्षमा गीता खत्री चयन भएकि छन् ।
प्राप्त मत परिणाम अनुसार निर्वाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पदम विश्वकर्मा र पुरु सुवेदी सचिव शिव लामिछाने, कोषाध्यक्ष राम लामा ‘अविनासी’, पुरस्कार समिति अध्यक्षमा डा गोपी उप्रेती तथा सदस्य तीर्थराज अधिकारी रहेका छन्।निर्वाचनमा दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने अध्यक्ष लगायतका बाँकी पदका लागि उम्मेदवारहरुको चयन निर्विरोध भएको थियो । उपाध्यक्ष पदका तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गरेका थिए।
अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो। निर्वाचनका लागि मतदानको समय यही डिसेम्बर १५ देखि १८ सम्म राखिएको थियो।हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् । संस्था स्थापना भएको तीन दशक बितिसक्दा पनि केन्द्रीय कार्यालय भवन नभएको अवस्थामा यस कार्यसमितिले अनेसासको केन्द्रीय कार्यालय भवन आगामी दुई वर्षभित्रमा अमेरिकामा खरिद गरिसक्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष गीता खत्रीले बताएकि छिन्।
साथै अध्यक्ष खत्रीले अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य रहेको बताइन्। कुराकानीका क्रममा अध्यक्ष खत्रीले निर्वाचनलाई सहज बनाउन भूमिका निर्वाह गरेकोमा वर्तमान अध्यक्ष डा श्याम कार्की, उपाध्यक्ष रोहिणी शर्मा, सचिव शिव लामिछाने, पुरस्कार समिति अध्यक्ष सीता पाण्डे, पूर्व केन्द्रीय अध्यक्ष पुरु सुवेदी र पदम विश्वकर्मा, पूर्व केन्द्रीय महासचिव गोवर्धन पूजालगायतलाई आभार व्यक्त गरेकी थिइन् । उनले निर्वाचन सम्पन्न गराउने निर्वाचन समितिलाई पनि धन्यवाद दिएकि थिइन्।
अनेसासले विभिन्न च्याप्टरहरुमा नेपाली बालबालिकाका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याएको छ भने यसको विस्तार गर्ने उद्देश्यसहित नेपाली पाठ्यक्रम समेत तयार गरिसकेको जानकारी बिओटीमा दोस्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित सचिव शिव लामिछानेले बताउए। सचिव लामिछानेका अनुसार अनेसासको वेभसाइटलाई अरु सूचनामूलक र पठनीय बनाउने योजना पनि नयाँ कार्यसमितिले तयार गरेको बताएका छन्।