झापामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३० गते २:४०

झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा. अनिल बस्नेतले जानकारी दिए ।

डा. बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।

भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ ।

डेंगुको सङ्क्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।

२०७६ जेठ ३० गते २:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर