प्रधानमन्त्रीको निर्देशन – ‘रेशम चौधरीको नेल तत्काल खोल्नू, लगाउनेलाई कारवाही गर्नु’

आजको खबर   |    प्रकाशित : २०७६ असार ७ गते ८:२३

काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा उपचररत अवस्थामा समेत नेल लगाइएको तस्वीर सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नेल खोल्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले अस्पताल लैजाँदा समेत नेल लगाएर लैजानेलाई तत्काल कारवाही गर्न सकेत निर्देशन दिए । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद चौधरीलाई अस्पतालमा नेल लगाइएको तस्वीर हिजो सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई निर्देशक दिएका हुन् । प्रधानमन्त्रीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकार विरुद्ध भएको बताएका छन् । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो। तर अहिले त्यस्तो अवस्था छैन । चौधरीलाई नेल फुकाएर उपचार गराउनु ।’

फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ । यसरी अस्पताल भर्ना भएका चौधरीलाई उपचारका लागि अस्पतालको बेडमा हुँदा समेत खुट्टामा नेल लगाइएको थियो ।

संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।

सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।

२०७६ असार ७ गते ८:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर