सडक बनाउन माग गर्दै साँखुबासीले नेता नेपालको बाटो छेके

आजको खबर   |    प्रकाशित : २०७६ असार १० गते ९:२१

साँखु। सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन्। शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुग्नुभएका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन्।

साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गरेका थिए। ख्डकाले सडकका कारण दुर्घटना नभएको दिन नभएको भन्दै सडक सुधार तथा छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न नेपालसमक्ष माग राखे।

स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए। सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासी सर्वसाधारणले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए।

चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ। सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ।

२०७६ असार १० गते ९:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर