कल बाइपास गर्ने १६७ जना विरुद्ध मुद्दा
आजको खबर | प्रकाशित : २०७६ जेठ १८ गते १:२३
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल बाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
ब्यूरो स्थापनापछि अहिले गरिएको खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरूबाट रु ११ अर्ब ९१ करोड विगोसहितको माग दाबी गरी मुद्दा चलाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
सो अवधिमा ब्यूरोले विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको रेग्मीले बताए। उनीहरूविरुद्धको कारवाहीमा कल बाइपासमा प्रयोग हुने दुई हजार ३७५ आधुनिक उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो पटक मात्रै काठमाडौँबाट खटिएको ब्यूरोको टोलीले यही जेठ १५ गते रूपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गर्न सफल भएको छ।
उनको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल बाइपास गर्न प्रयोग गरिने डिभाइस, केबुल तार सिम पोर्ट, भारतीय सिमसमेत बरामद गरिएको छ।
उनीविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रूपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। कल बाइपासमा विदेशीहरूसमेत सक्रिय हुने गरेको प्रहरीले जनाएको छ।