कर वृद्धि फिर्ता लिन सरकारसँग माग
आजको खबर | प्रकाशित : २०७५ साउन १० गते १:३२

काठमाडौँ । नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ।
पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा बुधबार बसेको बैठकले हालै वृद्धि गरिएको विभिन्न शुल्क तथा करले सर्वसाधारण जनतालाई मार पर्ने हुँदा समाजवादी अर्थतन्त्र निर्माणको अवरोध पुग्ने बैठकले ठहर गरेको छ।
मुलुकमा बढ्दै गएको बेरोजगारी र महँगीप्रति संवेदनशील भई बजार नियमन गरेर उपभोग्य वस्तु आपूर्तिलाई सहज र व्यवस्थित गर्न बैठकले सरकारलाई आग्रह गरेको छ।
आन्तरिक सांगठनिक तथा समसामयिक राष्ट्रिय राजनीतिको समीक्षा गर्दै बैठकले अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ।
२०७५ साउन १० गते १:३२ मा प्रकाशित