नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनुपर्छ

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १४:३५

भद्रपुर । चिया मजदुरको ज्याला र सुविधासम्बन्धी समस्या समाधान गर्न सरकारले लागू गरेको नयाँ श्रम ऐन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।

संवाद समूहले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘चिया मजदुरका समस्या र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा सरकारले ल्याएको नयाँ श्रम ऐन कार्यान्वयनमा विलम्ब गर्न नहुनेमा जोड दिएको हो।

अहिले दैनिक ज्याला रु २७८ पाउँदै आएका मजदुरले नयाँ श्रम ऐन कार्यान्वयनमा आएपछि दैनिक ज्याला रु ५१७, थप १० प्रतिशत सञ्चयकोष र आठ दशमलव ३३ प्रतिशत रकम उपदान पाउने जिफन्ट प्रदेश नं १ का सदस्य सन्तकुमार राईले बताए। उनले लागू भइसकेको श्रम ऐनलाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारलाई आग्रहसमेत गरे।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नं १ का इञ्चार्ज भूपाल सापकोटाले श्रम ऐन–२०७४ मा वार्षिक रु एक लाखको स्वास्थ्य बीमाको शुल्क मजदुर र व्यवस्थापन पक्षले आधा-आधा व्यहोर्नुपर्ने र रु सात लाखको दुर्घटना बीमाको सबै बीमा शुल्क उद्योगी पक्षले व्यहोर्नुपर्ने व्यवस्था भएको जानकारी दिए। चिया उद्योगीले सहमति नजनाएकाले सो ऐन कार्यान्वयनमा आउन नसक्दा मजदुर अन्यायमा परेको उनले बताए।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं मजदुरका अधिकारलाई खुम्च्याउने गरी छुट्टै चिया नियमावलीको माग गरिरहेका चिया उद्योगीले श्रम ऐनको कार्यान्वयनमा चासो नदेखाएको बताए।

नेपालको चिया क्षेत्रमा ४५ हजार मजदुर कार्यरत छन्। तीमध्ये १५ हजार मात्र स्थायी कामदारका रुपमा कार्यरत रहेको जिफन्ट प्रदेश नं १ का सदस्य राईले बताए।

नेपाल चिया उत्पादक सङ्घका चण्डीराज पराजुलीले चिया क्षेत्रको विकासका लागि सरकारले छुट्टै श्रमसम्बन्धी नीति लागू नगरे यो क्षेत्र धराशायी हुने बताउँदै अन्य उद्योगसरह चिया क्षेत्रमा श्रम ऐन लागू नगर्न र छुट्टै चिया नियमावली बनाउन सरकारसंग आग्रह गरे।

भारत, श्रीलंका र बंगलादेशमा समेत चिया क्षेत्रलाई समेट्ने छुट्टै श्रम ऐन लागू भइरहेको बताउँदै उनले जबसम्म छुट्टै चिया नियमावली सरकारले बनाएर लागू गर्दैन, तबसम्म चिया मजदुरको ज्याला निर्धारणमा सहमति हुन सक्दैन भने।

२०७५ साउन २१ गते १४:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर