बालविवाहपछि चरम यातना भोगेकी एक किशोरीको उद्धार

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते १४:१८

गौशाला । महोत्तरी मनरासिस्वा नगरपालिका-९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ।

ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका-५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह गरेको थियो। विवाहपछि ठाकुरले उनलाई कुटपिट,अश्लील गालीगोलौजलगायत यातना दिँदै आएको थियो। मंगलबार पुनः चरम यातना दिएपछि उनले पतिकोे घर छोडी भागेको थियो।

पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी किशोरीलाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। उनीसँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

घटनापश्चात् ठाकुर घरबाट भारततर्फ फरार भएको छ। प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ।

२०७५ साउन २३ गते १४:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर