नेपाल–चीनबीच ऐतिहासिक पारवहन प्रोटोकलमा सहमति जुट्यो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते ६:५३

काठमाडौं । नेपाल र चीनबीच ऐतिहासिक व्यापार तथा पारवहन सम्झौता कार्यविधिमा सहमति भएको छ । काठमाडौंमा चिनियाँ अधिकारी र नेपालबीच भएको दुई दिने वार्ताका क्रममा नेपाल चीन पारवहन प्रोटोकलमा सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सहमति पत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब रविशंकर सैँजु र चिनका तर्फबाट चिनियाँ यातायात विभागका महानिर्देशक वाङ सुइपिङले हस्ताक्षर गरेका छन् । बिहीबार राती यस्तो सहमति भएको जनाइएको छ ।

यो सहमतिसँगै अब नेपाली कन्टेनर सामान ल्याउन चिनको सिगात्सेसम्म पुग्न सक्नेछन् । हाल केरुङसम्ममात्र नेपाली कन्टेनर पुग्ने गरेका छन् ।

चीनसँग भएको यो सहमतिपछि भारतपछि नेपालको समुन्द्रसम्मको पहुँच चीनसम्म पुगेको छ । नेपालले अब चीनका ४ वटा सामुन्द्रिक बन्दरगाहा र ३ सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने भएको छ ।

नेपाललले तियान्जेन, लियान्यून्झ्याङ, झाइजिङ र सेन्जेन सामुन्द्रिक बन्दरगाहा प्रयोग गर्ने सहमति भएको वार्तामा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए ।

सहमतिअनुसार चिनियाँ बन्दरगाहाबाट सिगात्सेसम्म रेलबाट सामान आउनेछ भने त्यहाँ पुगेर नेपाली कन्टेनरले सामान ल्याउनेछन् । तेस्रोत मुलुकबाट आयातित सामानको विद्युतिय विल देखाएर नेपालले सामान छुटाउन सक्नेछ । भारतमा भने सक्कली विल देखाउनुपर्ने हुन्छ ।

संविधान घोषणामा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि नेपालले व्यापारको विकल्प खोजेको थियो । सोही क्रममा प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्दा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।

सो सम्झौता कार्यान्वयनका लागि यो कार्यविधिमा सहमति भएको हो ।

कार्यविधिमा कर्मचारी तहबाट सहमति भएकाले अब यो विषयमा राजनीतिक तहमा सम्झौता हुनेछ । यस्तो सम्झौता भएपछि कार्यान्वयनमा आउने बताइएको छ ।

हाल चीनसँग नेपालका ६ वटा नाकाबाट कारोबार भइरहेको छ । यो सम्झौतापछि नेपाललाई जुन नाकाबाट सहज हुन्छ सोही नाका प्रयोग गर्ने पनि सहमति भएको स्रोतले जनाएको छ ।

२०७५ भदौ २२ गते ६:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर