नेपालीहरु खान नपाएर भन्दा खान नजानेर मर्छन् , यस्तो छ कारण

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २९ गते १६:५६

आधुनिक जीवनशैली र खराब खानपिन संस्कृतिका कारण नेपालीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएको छ । खानेशैली अव्यवस्थित र अस्वस्थ हुँदा युवा अवस्थामै धेरैजना गम्भीर रोगी बनिरहेका छन् । एकतर्फ नेपालीको पुरातन खाने संस्कृति नै फरक छ अर्कोतर्फ धेरै नेपाली आफ्नो मौलिक खानेशैलीलाई परिमार्जित गर्दै सहरिया खानेकुरा र शैलीमा रमाइरहेका छन् । जसकारण स्वास्थ्य बिग्रँदै गइराखेको छ ।

आधुनिक जीवनशैली अपनाउने लहलहैमा अहिले धेरै नेपाली स्वस्थकर तथा पोषिला खाद्यपदार्थको साटो बजारिया खाद्यपदार्थको स्वादमा रमाइरहेका छन् । डा. उप्रेती भन्छिन्, ‘यस्ता जंकफुडमा केमिकल प्रयोग गरिएको हुन्छ, नुन, गुलियो, चिल्लो बढी हुन्छ । यसमा भिटामिन र कुनै पनि पौष्टिक तत्व हुँदैन ।’ यसरी नेपालीको खाने बानी अत्यन्तै बिगँ्रदै गएको छ । डा। उप्रेतीका अनुसार घरमा खाने खानामा कार्बोहाइड्रेड बढी खाने, बाहिर खाने खाजामा जंकफुड बढी खाने बानी स्वास्थ्यका लागि निकै घातक छ ।

भोजभतेर, बाहिरी खानामा धेरै चिल्लो, त्यो पनि बिग्रेको चिल्लो हुन्छ । यो मुटु र स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो स्वास्थ्यका लागि आवश्यक भने छ, शरीरलाई आवश्यक क्यालोरी पनि चिल्लोबाट प्राप्त हुन्छ । सामान्य अफिसमा काम गर्नेलाई १८ देखि २० हजार क्यालोरी चाहिन्छ । धेरै शारीरिक श्रम गर्नेलाई ३० हजारसम्म क्यालोरी आवश्यक हुन्छ । हामीले खाने खानाको ३० प्रतिशत क्यालोरी चिल्लोबाट आउनुपर्छ । त्यसभन्दा बढी चिल्लोबाट लियौँ भने त्यसले हानि गर्छ ।

तेललाई धुवाँ आउने गरी तताएर पकाइएका खानेकुराहरू विषाक्तजस्तै हुन्छन् । यस्तो विषाक्त तेल नसामा गएर जम्छ । यसले मुटुरोग, कलेजोमा समस्या हुनुका साथै मधुमेह, क्यान्सरजस्ता रोग लाग्छन् । यस्तो तेलबाट बनेका खाद्यपदार्थहरू खाँदा नसर्ने रोगहरू धेरै बढेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ

रोग बढाउँदै छ भात खानामा पनि हामीलाई भातै चाहिन्छ । त्यो पनि राम्रो सेतो चामलको भात खान्छौँ । जिब्रोको स्वादका लागि मीठो भए पनि सेतो चामलको भात नखानु राम्रो भन्छन् चिकित्सक । सकिन्छ भने बेलुकाको खाना खस्रो चामलको खानुपर्छ । कचौरामा भात र थालमा तरकारी खाने बानी बसाल्नुपर्छ । खानाभन्दा तरकारी धेरै खानुपर्छ । भातले पेट भर्नुहुँदैन । ओभर डाइट अर्थात् धेरै खाना खाँदा विश्वमा ४ जना बालबालिकामा १ जना मोटोपनबाट पीडित छन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले २०१३ मा गरेको एक अनुसन्धानले १५ प्रतिशत मानिसमा मोटोपन रहेको तथ्यांक सार्वजनिक गरेको थियो । नेपालमा हेल्दी डाइट पोलेसी छैन, जसको कारण खानपिन संस्कृति बिग्रिएर नेपाली रोगको सिकार भइरहेका छन् ।

बिग्रेको बानी नेपालीमा एउटा उखान प्रचलित छ, ‘बिहान सम्राट्ले जस्तो खाने, दिउँसो साथीसँग बाँडेर खाने र रातिको खाना जोगीलाई दिएर खाने ।’ यो उखानजस्तै खानेशैली बनाउने हो भने धेरै रोगबाट छुटकारा पाउन सकिन्छ । तर, नेपालीको खाना खाने बानी भने यसको ठ्याक्कै उल्टो छ । बिहानको खाना थोरै, दिउँसो र रातिको खाना धेरै खाने हाम्रो बानी छ । तर, स्वास्थ्यको हिसाबले बिहानको खाना धेरै, राति र दिउँसोको खाना एकदमै थोरै खानुपर्छ । जुन खानपिन संस्कृति पश्चिमी राष्ट्रहरूमा प्रचलित छ ।

दिनभर हामी काममा व्यस्त हुन्छौँ । त्यसैले बिहान धेरै खाँदा शरीरमा इनर्जी भइरहन्छ । खाइराख्न मन लाग्दैन । बेलुका धेरै खाना खाँदा इनर्जी खर्च हुँदैन र खाना पच्दैन । शरीरमा क्यालोरी धेरै हुन्छ । जसले गर्दा मोटोपना, मधुमेह, मुटुरोगजस्ता रोग लाग्न सक्छन् । त्यस्तै खाना खाँदा पेट कसेर खाने बानी अत्यन्तै गलत छ । पेट कसेर खाँदा कि पच्दैन कि हाइक्यालोरी हुन्छ र बोसोको रूपमा जम्मा हुन्छ । यस्तो बानीका कारण डाइबेटिज, मुटुरोग, क्यान्सरका बिरामी बढेका छन् ।

मुटुरोग विशेषज्ञ डा. प्रकाराज रेग्मीका अनुसार नेपाली कार्बोहाइड्रेडयुक्त खाना र ड्राइफुडहरू धेरै खान्छन् । यो स्वास्थ्यका लागि निकै हानिकारक छ । तारेको र चिल्लो, जंकफुडजस्ता खानेकुराले पेट भर्नु स्वास्थ्यमाथिको ठूलो खेलबाड हो । डा। रेग्मी भन्छन्, ‘नेपाली खाना दाल, भात, तरकारी, अचार स्वास्थ्यका लागि राम्रो हो । यसमा हाम्रा लागि चाहिने सबै पोषण तत्व पाइन्छ ।’ तर, नेपाली ८० प्रतिशत कार्बोहाइड्रेड र २० प्रतिशत अन्य सागसब्जी खाइरहेका छन् । यसले हाम्रो स्वास्थ्य दिनानुदिन बिगार्दै लगेको छ ।

हाम्रो सबैभन्दा बिग्रेको बानी भनेको ड्राइफुड कल्चर हो । बाल्यकालदेखि जंकफुड खाने बानीले पछिल्लो समय आकस्मिक हर्टअट्याक हुनेको संख्या बढ्दै गएको डा. अरुणा उप्रेती बताउँछिन् । बिस्कुट, आलुचिप्स, चाउचाउजस्ता जंकफुड चिब्रोका लागि स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छन् ।

२०७५ मंसिर २९ गते १६:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर