विश्वकप क्रिकेटः आज बलियो न्युजिल्याण्डलाई दक्षिण अफ्रिकाको चुनौति

आजको खबर   |    प्रकाशित : २०७६ असार ४ गते ४:३२

एजेन्सी । विश्वकप क्रिकेटअन्तर्गत आज बलियो टोली न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुनेछ।

बर्मिङ्घमस्थित एजबस्टन मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। आजको खेलमा सुरु देखि नै लयमा देखिएको न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ भने सुरु देखि नै लय गुमाएको दक्षिण अफ्रिकाले पनि न्युजिल्याण्डलाई पराजित गर्दै आफ्नो साँख जोगाउने लक्ष्यमा हुनेछ। जारी विश्वकपमा रहिरहनको लागि दक्षिण अफ्रिकालाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ। अफ्रिकाले आजको खेलसहित आफ्नो बाँकि सबै खेल जिते पनि शीर्ष चारमा पुग्ने सम्भावना न्युन रहेको छ।

जारी विश्वकपमा भने दक्षिण अफ्रिकाभन्दा न्युजिल्यान्ड बलियो देखिएको छ। न्युजिल्यान्ड हालसम्म अपराजित छ भने दक्षिण अफ्रिकाले एउटा खेलमात्र जित्न सकेको छ। हालसम्म चार खेल खेलेको न्युजिल्यान्डले तीन जित हात पारेको छ भने एक खेल वर्षाका कारण अनिर्णित रूपमा सकिएको छ। तीन खेलमा पराजित भएको दक्षिण अफ्रिकाले एक खेलमात्र जितेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो। आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डीएल नियमका आधारमा नौ विकेटले हराएको थियो।

यी दुई टोलीको पछिल्लो पाँच खेलको नतिजालाई हेर्ने हो भने दक्षिण अफ्रिका भारी देखिएको छ। तर अहिले लगातार खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकालाई आजको खेलमा न्युजिल्याण्डलाई रोक्न मुस्किल हुनेछ। यी दुई टोली सन् २०१५ को विश्वकपको सेमिफाईनलमा आमनेसामने भएका थिए। त्यतिबेला पनि न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक विश्वकपको फाईनलमा पुगेको थियो। दक्षिण अफ्रिका भने विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

२०७६ असार ४ गते ४:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर