चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी, मधुमेहदेखि क्यान्सर रोगको प्रमुख कारक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार १६ गते ०:३४

के तपाईलाई थाहा छ ? चिनी तपाईको स्वास्थ्यका लागि उत्तिकै हानिकारक छ, जति चुरोट र रक्सी हुन्छ । दैनिकजसो कुनै न कुनै रुपमा तपाई हामीले चिनी सेवन गरिरहेका हुन्छौं ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धानबाट यो पत्ता लागेको छ कि अधिक चिनीको सेवन स्वास्थ्यका लागि रक्सी र चुरोट सेवनजत्तिकै हानिकारक हुन्छ ।

मुटु रोगको कारण
चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपाईंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ ।

दिमागलाई कुलततर्फ धकेल्छ
तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

अनावश्यक भोक बढाउँछ
बिहानको वा मध्य साँझको भोक मेट्न तपाईंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपाईंको गलत सोच हो । विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

चिनीले कलेजोलाई बिगारिदिन्छ
खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

विभिन्न प्रकारका क्यान्सर
अधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

इन्सुलिनको मात्रा बढ्छ
एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

दाँतका लागि हानिकारक
चिनी तपाईंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपाईंलाई कौतूहल हुन सक्छ ।

हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पुर्याउँछ ।

मोटोपन बढाउँछ
चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

चिनीले तपाईंलाई बूढो देखाउँछ
तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।

मधुमेहको जोखिम
बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

२०७६ असार १६ गते ०:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर