पर्यटन वर्ष सफल बनाउन प्रदेश १ र गण्डकी प्रदेशबीच निम्तो आदानप्रदान

आजको खबर   |    प्रकाशित : २०७६ असोज १४ गते ५:०९

मोरङ । नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ। सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ-आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन्।

पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई चुल्हेनिम्तोसहितको निमन्त्रणा कार्ड प्रदान गरे।

आन्तरिक र बाह्य पर्यटकको मुख्य केन्द्र रहेको पोखरामा पर्यटकको सहभागिता वृद्धि गरी प्रचार गर्न अन्तरप्रदेश सहकार्य जरुरी भएको मन्त्री लम्सालले बताए । कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नं १ पर्यटनका लागि देशभरनै एक नम्बर रहेकाले गण्डकी प्रदेशलाई पनि भ्रमणका लागि निमन्त्रणा दिए।

उनले गण्डकी प्रदेशको पर्यटन पवद्र्धन वृद्धि गर्न विराटनगरदेखि पोखरा हवाईसेवा विस्तार गर्ने तयारी भइरहेको बताए । प्रदेश नं १ मा विश्वको अग्लो सगरमाथादेखि देशकै होचो केचना कवल, विराट राजाको दरबार, पाथिभरादेवी, एशियाकै अग्लो ह्यातुङ झरना, चिया, अलैँची, रुद्राक्षको राजधानी जस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको जानकारी गराए।

मुख्यमन्त्री राईले भने, “केन्द्र सरकारको भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश र स्थानीय सरकार लाग्न जरुरी छ।” उनले विदेशी पर्यटकसँगै आन्तरिक पर्यटन पनि प्रवद्र्धन गर्न अन्तर प्रदेशको सहकार्य आवश्यक रहेको बताए। रासस

२०७६ असोज १४ गते ५:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर